• लण्डन – बेलायती राजनीतिका प्रभावशाली व्यक्तित्व तथा अमेरिकाका लागि पूर्वराजदूत लर्ड पिटर म्यान्डेलसनलाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरेको आशंकामा लन्डनको महानगरीय प्रहरीले सोमबार उनलाई उत्तरी लन्डनको क्याम्डेनस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

    ७२ वर्षीय म्यान्डेलसनमाथि मन्त्री पदमा रहँदा सरकारका गोप्य र बजारलाई प्रभावित पार्न सक्ने सूचनाहरू कुख्यात अपराधी जेफ्री एप्स्टिनलाई उपलब्ध गराएको गम्भीर आरोप लागेको छ। प्रहरीले सोमबार म्यान्डेलसनको विल्टशायर र क्याम्डेनस्थित दुईवटा ठेगानामा छापा मारेर खानतलासी समेत गरेको थियो। त्यसलगत्तै सादा पोसाकका अधिकारीहरूले उनलाई आफ्नै निवासबाट गाडीमा हालेर चौकी लगेका थिए।

    यो अनुसन्धानको सुई गत महिना अमेरिकी न्याय विभागले सार्वजनिक गरेको एप्स्टिनसँग सम्बन्धित दस्ताबेजहरू पछि म्यान्डेलसनतर्फ सोझिएको हो। ती दस्ताबेजहरूमा सन् २००९ तिरका केही इमेलहरू फेला परेका छन्, जसमा म्यान्डेलसनले तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउनका सल्लाहकारले तयार पारेको सरकारी सम्पत्ति बिक्रीको योजना र बैंकरहरूको बोनसमा लगाइने करका बारेमा एप्स्टिनसँग छलफल गरेको देखिन्छ।

    यति मात्र नभई, सन् २०१० मा युरो क्षेत्रको आर्थिक संकटका बेला ल्याइने भनिएको बेलआउट प्याकेज घोषणा हुनुभन्दा एक दिन अगावै उनले त्यसको जानकारी एप्स्टिनलाई दिएको खुलासा भएको छ। यस्ता गोप्य सूचनाहरू एप्स्टिन जस्ता व्यक्तिलाई पुग्नुले बेलायती राजनीतिमा ठुलो हलचल पैदा गरेको छ। म्यान्डेलसनले भने आफूले कुनै आपराधिक काम नगरेको र आर्थिक लाभका लागि त्यसो नगरेको दाबी गर्दै आएका छन्।

    सन् २०२५ को फेब्रुअरीमा म्यान्डेलसनलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गरिएको थियो। तर एप्स्टिनसँगको उनको सम्बन्धको गहिराइबारे नयाँ तथ्यहरू बाहिरिएपछि सेप्टेम्बरमा उनलाई पदबाट बर्खास्त गरियो।

    वर्तमान प्रधानमन्त्री सर कियर स्टारमरले म्यान्डेलसनले नियुक्तिको प्रक्रियाका क्रममा झूटो बोलेको आरोप लगाएका छन्। सरकारले आगामी मार्चको सुरुवातमै यो नियुक्तिसँग सम्बन्धित दस्ताबेजहरू सार्वजनिक गर्ने तयारी गरेको छ, जसले म्यान्डेलसनको बदमासीलाई थप पुष्टि गर्ने विश्वास गरिएको छ।

    यस पक्राउलाई विपक्षी दलकी नेता केमी बेडनोकले प्रधानमन्त्री स्टारमरको कार्यकालकै सबैभन्दा लज्जास्पद क्षण भनेकी छन्। उनले प्रधानमन्त्रीलाई कमजोरको संज्ञा दिँदै देशको उच्च कूटनीतिक पदमा नियुक्त व्यक्ति नै यसरी प्रहरीको खोरमा पुग्नुले सरकारको छविमा कहिल्यै नमेटिने दाग लागेको टिप्पणी गरेकी छन्। अर्कातर्फ, एप्स्टिनबाट पीडित भएकाहरूले भने बेलायती प्रहरीको यो कदमलाई न्यायको दिशामा एउटा महत्वपूर्ण पाइला भन्दै स्वागत गरेका छन्।

    सन् १९८० को दशकदेखि लेबर पार्टीमा आबद्ध म्यान्डेलसन पूर्व प्रधानमन्त्री टोनी ब्लेयरलाई सत्तामा पुर्‍याउने मुख्य योजनाकारमध्ये एक मानिन्थे। दशकौँसम्म बेलायती राजनीतिको केन्द्रमा रहेका उनी अहिले आफ्नै पुराना सम्बन्धहरूका कारण कानुनी फन्दामा परेका छन्। हाल प्रहरी र सरकारी वकिलहरूबिच यस विषयमा थप कानुनी प्रक्रिया अगाडि बढाउनेबारे परामर्श भइरहेको छ। – बीबीसी