• काठमाडौँ  –  नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन साह दुबै जना आज झापा जान लागेका छन ।

    एमाले अध्यक्ष ओली आज झापा जिल्लामा केन्द्रित कार्यक्रममा सहभागी बन्ने भएका छन् । निर्धारित कार्यक्रम अनुसार उनी बिहान ११ बजे बिर्तामोडका होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफलमा सरिक हुनेछन् । त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन् । कार्यक्रमक्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहने बताइएको छ।

    त्यसैगरी चुनावी कार्यक्रमका दौरान अस्वस्थ भएका रास्वपा नेता बालेन साह स्वास्थ्यलाभपछि आज झापा जाने भएका छन् । उनका सहयोगी अर्जुन घिमिरेका अनुसार उनी बेलुकीसम्म दमक पुग्ने कार्यक्रम छ । अबका दिनपछि उनी आफू उम्मेदवार रहेको झापा–५ का कार्यक्रममै व्यस्त रहने भएका छन् ।

    चुनावी कार्यक्रमका क्रममा सुर्खेतमा अस्वस्थ भएपछि त्यसपछिका कार्यक्रम स्थगित गरी उनी काठमाडौँ फर्किएका थिए । खाना अपच भएर बान्ता हुने, पेट दुख्ने र रक्तचाप बढेका कारण उनी चुनावी कार्यक्रमबाट फर्किएका हुन् । काठमाडौँमा दुई दिनको उपचारपछि घरमै आराम गरेका उनी पूर्णतः स्वस्थ्य भएका छन् । निकटस्रोतका अनुसार डाक्टरले उनलाई स्वास्थ्य स्थिर राख्न केही औषधि दिएका छन् ।