• डडेल्धुरा : डडेल्धुरा जिल्लाका सामाजिक क्षेत्रमा क्रियाशील तथा नेपाली कांग्रेसकी अमरगढी नगरसचिव देवकी भट्ट ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् ।

    उनले आज (बिहिबार) सामाजिक सञ्जाल मार्फत आफ्नो नेपाली कांग्रेस परित्याग गरेको सार्वजनिक गरेकी हुन् । उनले पारिवारिक विरासत र बाल्यकालदेखिको प्रजातान्त्रिक सोचका कारण नेपाली कांग्रेससँग जोडिएको उल्लेख गर्दै पार्टीको ऐतिहासिक योगदानप्रति गर्व व्यक्त गरेकी छन् ।

    नेतृ भट्टले सुदूरपश्चिमका अग्रज नेता तथा पार्टीका धरोहर व्यक्तित्व पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा दम्पती प्रति गरिएको व्यवहारले आफूलाई थप मर्माहत बनाएको उनले उल्लेख गरेकी छन् ।  उनले सबैलाई समेटेर जनताको आकांक्षा अनुसार पार्टी अघि बढ्नुपर्ने आवश्यकतालाई बेवास्ता गरिएको प्रति पनि असन्तोष व्यक्त गरेकी छन् ।

    नेतृ भट्ट राजनीतिका साथै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन । नेतृ भट्ट  डडेल्धुरा सदरमुकामको खलंगा खानेपानी, उपभोक्ता तथा सरसफाई समितिको सचिव, डडेल्धुरा क्रिकेट संघको कोषाध्यक्ष लगायत विभिन्न सामाजिक संस्थाहरुमा क्रियाशिल रहेकी छन् ।

    चुनावको मुखैमा आएको भट्टको राजिनामाले नेपाली कांग्रेस डडेल्धुरालाई ठूलो झट्का लागेको छ ।