• मुम्बई – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

    समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।

    नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

    खेलअघि शनिबार भएको प्रि(म्याच प्रेस कन्फेरेन्समा नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिज धेरै राम्रो टिम भएको र धेरै राम्रो खेल प्रदर्शन गर्नुपर्ने बताएका छन् । ‘अब बाँकी दुई खेल जित्नेबारेमा नै सोच्नुपर्छ, नत्र त झोला प्याक गरेर घर फर्किनेबाहेक विकल्प छैन’ प्रशिक्षक लले भनेका थिए ।

    प्रशिक्षक लले सुरुवाती दुई खेलमा फरक किसिमको हार बेहोरेको भन्दै त्यसबीचको ग्याप पत्ता लगाउनुपर्ने बताएका थिए । साथै उनले सामाजिक सञ्जाल प्रयोगको विषयलाई लिएर पनि कडा टिप्पणी गरेपछि अहिले त्यस विषयमा पनि गम्भीर रूपले चर्चा भइरहेको छ ।

    वेस्ट इन्डिजका बलर अकिल होसेनले नेपाली टिमको क्षमताबारे जानकार रहेको र यो खेललाई विश्वकपको अर्को एक खेलको रूपमा नै लिने बताए । ‘नेपालको क्षमता के हो र नेपालले के गर्न सक्छ भन्ने बारे हामी राम्रोसँग जानकार छौं’ गत सेप्टेम्बरमा शारजाहमा भएको टी(२० अन्तर्राष्ट्रिय सिरिज र अहिले टी(२० विश्वकप खेलिरहेको नेपाली टिमबीचको फरकबारे सोधिएको प्रश्नमा होसेनले भने ।

    हेड टु हेड

    वेस्ट इन्डिज दुईपटकको च्याम्पियन टोली हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप उपाधि जितेको थियो ।

    वेस्ट इन्डिज आईसीसी टी-२०आई वरियतामा सातौं स्थानमा छ । शाइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिज पनि पावर हिटिङका लागि परिचित टोली हो ।

    नेपालले वेस्ट इन्डिजसँग हालसम्म ३ खेल खेल्दा २ खेल जितेको छ भने १ खेलमा पराजित भएको छ । गत अक्टोबरमा भएको ऐतिहासिक टी-२०आई शृंखलामा नेपालले वेस्ट इन्डिजमाथि २-१ को शृंखला जित निकालेको थियो ।