• काठमाडौं – बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० ले बहुमत हासिल गरेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

    बंगलादेशका कुल ३०० मध्ये २९९ सिटमा विहीबार निर्वाचन भएको थियो । शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो ।

    २९९ सिटमध्ये २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको ढाका ट्रिब्युनले जनाएको छ । बीएनपी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् । रहमान गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए ।

    जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ । जमात प्रमुख शफीकुर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रबाट जित हासिल गरेका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन् ।

    सत्तामा बीएनपीको बलियो पुनरागमन

    करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले यस चुनावमा उल्लेखनीय पुनरागमन गरेको छ । बीएनपीले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ ।

    बिहीबार मतदानपछि बीएनपी अध्यक्ष तारिक रहमानले आफू निर्वाचित भएमा देशको कानून–व्यवस्था सुधार आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए ।